डोटी, जेठ १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्नेमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
नेपाली काङ्ग्रेस डोटीले मङ्गलबार आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याइ समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिएका छन् ।
उनले देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने र सरकार गम्भीर भइ लाग्नुपर्नेमा जोड दिएका हुन् । उनले विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान तिर लाग्नुपर्ने समेत धारणा व्यक्त गरे ।
सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको नेता पौडेलले आरोपसमेत लगाएका छन् । उनले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गरे ।
देश र नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको भन्दै उनले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप प्रत्यारोप लगाएका हुन् । उनले ‘विप्लव’ समूहलाई पनि हतियार त्यागेर वार्तामा आउन आग्रह गरेका छन् । दिपायलमा रहेका काङ्ग्रेसका संस्थापक नेता अर्जुनसिंह कठायतको नवनिर्मित सालिकको नेता पौडेलले उद्घाटनसमेत गरेका थिए ।