१४ दिनसम्म्म पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द

मुग्लिन, जेठ १५ । अब १४ दिनसम्म पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्क्ब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन सम्म बन्द गरिने सूचना जारी गरी जानकारी गराएको हो ।

जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म योजनाका अनुसार बन्द गरिने भएको छ । ठेकेदार कम्पनी एलाइट एड्भेञ्चर लोहनी जेभीले विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा विविध कारण देखाउँदै समय थप मागेका थिए ।

थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । सो पुलको भाग एक सय ६० मिटर लामा १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडामा बनाइने भएकोे छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क्ब्रिज पूरा भएपछि दुईतर्फी आवागमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।