काठमाडौँ, साउन २७ । नेपालमा बेरोजगारीको संख्या बढ्दै गइरहेको अवस्थामा बेरोजगार युवालाई रोजगारी दिलाउने उद्देश्यले आजदेखि भृकुटीमण्डपमा जागिर र अवसर मेला शुरु भएको छ ।
अधिकारी क्रियाटिभ कन्सर्नको आयोजनामा भएको उक्त मेलाको श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले नेपाल पुलिल क्लबमा उद्घाटन गरे । उनले मेलाले शिक्षित युवालाई रोजगार दिनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । अहिले पढेर पनि धेरै नेपाली युवा शिक्षित छन् र त्यस्ता पढेका तर बेरोजगार युवालाई सो मेलाले रोजगारको अवसर दिलाउन मद्दत पुर्याउने उनले बताए । मन्त्री मन्सुरले सरकारका तर्फबाट पनि यस्ता मेलालाई प्रोत्साहन गर्ने धारणा राखे । उनले अहिले सरकारले स्वदेशमा नै युवालाई रोजगारको अवसर दिने योजना बनाइरहेको जानकारी दिए ।
कार्यक्रममा आसाम डाउन विश्वविद्यालयका कुलपति डा नरेन्द्र नाथ र सामुदायिक क्याम्पस संघका अध्यक्ष भोला ओझाले बेरोजगार युवालाई एकै छानामुनि रोजगारको अवसर दिलाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । शनिबारसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधैँ सम्पर्क गराई जागिरको अवसर प्रदान गर्न उक्त मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक शङ्कर भट्टराईले जानकारी दिए ।
मेलामा नेपालका १८ र भारतका दुई कम्पनीले सिधँै रोजगारको अवसर दिनेछन् । मेलाबाट ती कम्पनीले आफूलाई आवश्यक जनशक्ति छनोट गरी रोजगारी प्रदान गर्नेछन् । भट्टराईका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोम लगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् । सो मेलामा युवाले आफ्नो व्यक्तिगत विवरण ती कम्पनीलाई बझाई कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारीको छनोट गरिने बताइएको छ ।