भारतमा चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर पर्यटकीय गन्तव्यको प्रचार गरिँदै

काठमाडौं, जेष्ठ १५ । भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् ।

संयुक्त रुपमा चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु गएर भारतीय सीमा क्षेत्रका शहरहरुमा यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका हुन् ।

यही असार ३ गतेबाट क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार भारतको पटना, वनारस र लखनउ पुगेर ६ दिनसम्म त्यहाँका ट्राभल एजेन्सी, होटल व्यवसायीलगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा गर्न लागिएको यस कार्यक्रममा ती स्थलहरुमा गरिने कार्यक्रममा चितवन, रुपन्देहीसहित नेपालका विभिन्न क्षेत्रका पर्यटकीय महत्वका गन्तव्यहरुका बारेमा जानकारी गराइनेछ ।

बेमौसमको समय पारेर पर्यटनको हिसाबले व्यवसायीहरु ती शहरहरु जान लागेका हुन् । भारतका विभिन्न शहरमा नेपालका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्ने उद्देश्यले प्रचारप्रसार अभियान थालिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यलाई सीमा क्षेत्रको विहार र उत्तर प्रदेशमा प्रचार गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरु गर्ने भएको छ । सो क्षेत्रबाट एकै दिन यहाँ पर्यटक आउन सक्छन् । उक्त क्षेत्रको भन्दा नेपालको तापक्रम कम भएकाले नेपालमा भारतीय सीमा क्षेत्रबाट पर्यटक भित्र्याउन सकिने उद्देश्यका साथ शुरु गर्ने यो अभियानलाई सरकारले सहयोग भएको छ ।