सिरहामा कार्बाइडको प्रयोगले पकाइएको आँप बजारमा

लहान, जेठ १६ । सिरहामा भारतको विभिन्न स्थानबाट ल्याइएको विषादीले पकाइएको आँप किनबेच भइरहेको छ । आँपको राजधानी मानिने सिरहामा अहिले स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण अत्याधिक बढेको हो । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।

स्थानीयवासीले भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार, मिर्चैयालगायतका शहरमा बिक्री भइरहेकोे जानकारी गराएका छन् ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भएकाले खानै नहुने स्वास्थ्यकर्मीले बताएका छन् । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकको सुझाव छ ।

सिरहा जिल्ला आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिन्छ । सिरहामा फल्ने आँप काठमाडौँ, विराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुने गरेको छ ।