मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन साँझपख वर्षा हुने

काठमाडौँ, जेठ १९ । देशको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जनसहित हावाहुरी र वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र अझै केही दिन कायम रहने बताएको छ ।

अपराह्नपछि तीन÷चार दिनसम्म अझै मेघगर्जनसहित वर्षा हुने देखिएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना बढी देखिएको बताएका छन् । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन ।े मौसमविद् अर्यालले वायुमण्डलको तल्लो सतह अहिले (एक÷डेढ किलोमिटरसम्म) मात्र सो वायुको प्रभाव रहेको स्पष्ट पारेका छन् ।

सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।