अनुदान सदुपयोग नगर्ने कृषकलाई कारवाही गरिने

अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कारवाहीको दायरामा ल्याइने चेतावनी दिएकी छन् ।

उनले सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा उक्त कुरा भन्दै अनुदान सदुपयोग भए÷नभएको निरन्तर अनुगमन गरिने जानकारी दिएकी छन् ।

मन्त्री केसीले सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न अनुरोध गर्दै सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले त्यसमार्फत कृषकलाई प्रवद्र्धन र प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको जानकारी गराइन् ।

कार्यक्रममा चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको थियोे । पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी मोहन गिरीले भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त रु ५० लाख अनुदान सहयोगबाट बोका खरीदका साथै औषधि र खोर सुधार लगायतमा खर्च गरिएको बताएका छन् । कृषकलाई गोलाप्रथाका माध्यमबाट बोका छनोट गर्न लगाइएको थियो ।

आजै वीरेन्द्रनगरस्थित भेटनेरी अस्पतालबाट स्थानीय कृषकलाई मन्त्री केसीले ३४ जर्सी गाई प्रदान गरे । मन्त्रालयको युवालक्षित कार्यक्रमअन्तर्गत कैलालीबाट ती गाई ल्याइएको थियोे ।