काठमाडौं, जेष्ठ २० । साम्राज्ञी आरएल शाह भन्ने बित्तिकै अहिलेका युवा पुस्ताका लागि उनी चलचित्र जगतको हट केक बनेकी छन् । उनको क्रेज युवा पुस्ता माझ निकै बढ्दो छ । उनी फिल्म ‘मारुनी’ मार्फत् करीब एक वर्षपछि ठूलो पर्दामा फर्किँदैछिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ गत वर्षको असोजमा रिलिज भएको थियो ।
साम्राज्ञीले फिल्म छनोटमा निकै चुजी मानिने अभिनेता पुष्प खड्कासँग रोमान्स गरेको फिल्म ‘मारुनी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्म भदौ १३ मा रिलिज हुने समेत बताइएको छ ।
सो पोस्टरमा साम्राज्ञी र पुष्प मात्र फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । फिल्मको पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सृजना गर्नेमा निर्माण टिम विश्वास छ ।
चलचित्र पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने भएको छ । पूनम गौतमले निर्माण गरेको फिल्मलाई ’मंगलम’ फेम्ड निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री फिल्मका सह–निर्मातामा छन् । फिल्मको बिषयवस्तुको बारेमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । संजय लामाले फिल्मलाई खिचेका हुन् । फिल्ममा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ ।
हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा फिल्म बनाएको ‘मारुनी’ को निर्मात्री गौतमले बताइन् । चलचित्रमा निकै ट्विस्टहरु रहेको समेत बताइन् । चलचित्रले दर्शकको मन छुने समेत जिकिर गरिन् ।’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’ लाई आफ्नो करिअरको महत्त्वकांक्षी फिल्म बताएकी छन् । यसअगाडी उनले यस्तो भूमिका नगरेको बताइन् । पुष्प पनि फिल्मलाई लिएर बढी नै उत्साहित छन् ।