हेटौँडा, जेठ २० । एक हप्ताका लागि प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । अस्पतालले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई एक हप्ताका लागि भर्ना गरेको हो ।
मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका हुन् । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् । निकै सक्रिय दिनचर्या भएका पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेह भए पनि दैनिक १८ घण्टासम्म क्रियाशील रहने बताइएको छ ।
उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया समेत गरिएको थियो । गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले पौडेलकोे स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
मुख्यमन्त्रीले अस्पतालका चिकित्सकका अनुसार एक हप्ता आराम गर्नुपर्ने समेत बताएका छन् । मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी दिए । मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ ।