चिकित्सा क्षेत्रमा रहेका समस्या र विकृतिलाई ऐनले मर्यादित बनाउन सहयोग

काठमाडौं, जेष्ठ २३ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हटाउने बताएका छन् ।

उनले चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन गरेको धारणा व्यक्त गरे ।

ऐन आउनुभन्दा अगावै मापदण्डविना विदेशमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययन जाने गरेको र २० पल्टसम्म मेडिकल काउन्सिलले लिने परीक्षामा अनुतीर्ण हुने गरेको जानकारी दिँदै मन्त्री पोखरेलले अहिले प्रवेश परीक्षा लिने प्रणाली शुरु गरेपछि विगतमा एक हजार ५०० को सङ्ख्या घटेर ४०० विद्यार्थी पुगेको समेम बताए ।

अहिले चिकित्सा क्षेत्रमा अनुसन्धान आवश्यक रहेको र ऐनले सेवा, पठनपाठन र अनुसन्धानलाई मुख्यरुपमा जोड दिएको चर्चा गर्दै उनले चिकित्सा सेवा मानवजीवनसँग गाँसिएकाले सेवा प्रवाह गर्दा संदवेदनशील हुनुपर्ने जानकारी गराएका छन् ।

चिकित्सा क्षेत्रमा मागअनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने भन्दै निजी क्षेत्रले उत्पादन गरेर मात्र नहुने र त्यसको व्यवस्थापन पनि आवश्यक भएकाले ऐनले यसमा प्रभावकारी भूमिका खेल्ने उनले बताएका छन् ।

सरकारी अस्पतालमा तोकिएको समयसम्म कार्य नगर्ने चिकित्सकलाई ऐनले अनुगमन गरी कारवाही गर्ने प्रावधान रहेको प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्पष्ट पारेका छन् । निजामती जस्तो चिकित्सा सेवा नभएकाले उनीहरुको बालबच्चाको शिक्षा, थप अध्ययन लगायतका कार्यमा सेवा सुविधा थप गर्नुपर्नेमा उनले जोड दिए ।

चिकित्सा क्षेत्रमा रहेका समस्या र विकृतिलाई ऐनले मर्या्दित बनाउन सहयोग पुग्ने जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले धारणा व्यक्त गरे ।