एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं, जेठ २४ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट जेठ २३ गते एपीएफ टोलीले करिव १ लाख १६ हजार रुँपैया बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याँउदै गरेको उल्लेखित मुल्यबराबरको लत्ताकपडा, मिठाई र हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपाल, नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागी स्थानिय भन्सार कार्यालयमा बुझाएको सो विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैगरी झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० कालिझोडाबाट जेठ २३ गते एपीएफ टोलीले करिव ३ लाख ५० हजार रुँपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको जानकारी गराइएको छ ।

भारतबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याँउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागी स्थानिय भन्सार कार्यालयमा बुझाएको सो विज्ञप्ती मार्फत जनाइएको छ ।

त्यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्तीचोकबाट जेठ २३ गते एपीएफ टोलीले करिव १ लाख २० हजार रुँपैया बराबरको अवैध सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याँउदै गरेको अवस्थामा करिव ५५ के.जी. मरिच, किराना सामान र उक्त सामान ल्याउन प्रयोग भएको एउटा मोटरसाईकल समेत सशस्त्र प्रहरी बल नेपाल, नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागी स्थानिय भन्सार कार्यालयमा बुझाएको एपीएफ टोलीले बताएको छ ।