काठमाडौँ, साउन २९ । लगातार परेको पानीका कारण आएको भीषण वर्षा र बाढी पहिरोकाले देशका विभिन्न भागमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन गर्न नेकपा (एमाले)ले सरकारसँग माग गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो संकटको घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । एमालेले कोशी नदीमा पानीको प्रवाह खतराको संकेत भन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न माग गरेका छन् । सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्नका लागि कूटनीतिक पहल गर्न पनि माग रहेको छ ।
बाढी पहिरोबाट ३० जनाभन्दा बढीको ज्यान गएको छ र १० जनाभन्दा बढी बेपत्ता, हजारौँ व्यक्ति विस्थापित हुनाका साथै सयौँ घर डुबानमा परेका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, दाङ, बाँके, बर्दियालगायत तराईका अधिकांश जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।
पहाडका धेरै जिल्लामा पहिरोले थुप्रैको ज्यान लिएको र कैयौँ बस्तीलाई जोखिममा पु¥याएको छ । तराईका अधिकांश नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । पूर्व–पश्चिम राजमार्ग, मुग्लिन–नारायणघाट सडकलगायत धेरै राजमार्ग र सडकमा पहिरोका कारण आवागमन बन्द छ ।