सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप

काठमाडौं, जेठ २४ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक भएको जनाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा नेता रिजालले रोजगारीको अवसर सृजना गर्न तर्फ सरकार गम्भिर हुनु पर्नेमा जोड दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको भनाई छ ।

छायाँ सरकारका अर्थमन्त्री समेत रहेका उनले सरकारलाई एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको भनि प्रश्न समेत गरेका छन् । नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै कार्यक्रम बजेटमा ल्याउन नसकेको स्मरण गराएका थिए ।