ललितपुर नेकपाका नेता हुमागाई कांग्रेसमा प्रवेश

????????????????????????????????????

ललितपुर, जेठ २४ । एमालेका पूर्वनेता रामकृष्ण हुमागाई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस ललितपुरद्वारा लगनखेलमा आयोजना गरिएको राष्ट्रिय जागरण अभियानको आमसभा कार्यक्रममा नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा र जिल्ला सभापति मदन बहादुर अमात्यले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

हुमागाईलाई पार्टी सभापति देउवाले माला लगाएर र ललितपुरका पार्टी सभापति अमात्यले पार्टी सदस्यता प्रदान गरेर पार्टी प्रवेस गराएका छन् । ४० वर्षसम्म कम्युनिष्ट पार्टीको राजनीतिमा क्रियाशील बौद्धिक नेता रामकृष्ण हुमागाईले अहिलेका कम्युनिष्टहरुमा कम्युनिष्ट सिद्धान्तमा नरहेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रममा हुमागाईले भने, ‘ हिजो कम्युनिष्टहरु लाल थिए, लाल सलाम भन्दै कम्युनिष्टमा लागियो, अहिले लालहरु दलाल भए, त्यसकारण कम्युनिष्ट छोडेर काँग्रेसमा प्रवेश गरियो ।’ पूर्वनेकपा एमालेको सदस्य रहेका हुमागाईले ४० वर्ष आफूले कम्युनिष्ट राजनीतिमा योगदान गरेको स्पष्ट पारेका थिए । उनले भने, ‘हिजो हामी कम्युनिष्टमा राजनीति गर्दा काँग्रेसलाई चाम्रो भन्थ्यौं। काँग्रेस चाम्रो मात्रै हैन, राष्ट्रियता र नेपालीको हितका लागि राम्रो पनि छ ।’

नेता हुमागाई बौद्धिक राजनीतिज्ञ हुन् । डबल डिग्री गरिसकेका नेता हुमागाईले ललितपुरको दक्षिणी भेगको राजनीतिक सामाजिक क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान र्पुयाउदै आउका छन् । २०४८ र २०५४ मा तत्कालीन बुखेल (हालको महाकाल गाउँपालिका वडा नं. १)को अध्यक्ष समेत भएर काम गरिसकेका व्यक्ति हुमागाई दक्षिण ललितपुरमा विद्युुत र्पुयाउनका लागि पहल गर्ने नेतृत्वकर्ता समेत हुन् ।

आम निर्वाचनका बेला टिकट नदिए पछि नेकपा नेतृत्वसँग रुष्ट भएका हुमागाईले केही समयअघि पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उनले पार्टी प्रवेश पछि कार्यक्रममा बोल्दै मदन भण्डारीको प्रशंशा गरे । पार्टीले उचित जिम्मेवारी दिए धेरै कार्यकर्ता नेपाली काँग्रेसमा भित्राउने समेत उनले घोषणा गरेका छन् ।