गण्डकी, जेष्ठ २६ । पर्यटकीय जिल्ला लमजुङमा गण्डकी प्रदेशअन्तर्गत स्थानीय सरकारद्वारा एक मोटरेवल पुल बनाउने भएको छ । नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेसीँशहर नगरपालिकाले बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो ।
शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले पुल निर्माण सम्पन्नसँगै बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की संरचना बनाउने अभियानमा लागेको बताएका छन् । समृद्ध बेँसीशहर निर्माणमा नगरवासीको हातेमाले गर्दै अघि बढेकाले जनप्रतिनिधिलाई काम गर्न उत्साह मिलेको वडा नं ८ का वडाध्यक्ष पवित्रा थापाले बताइन् ।
झ्याङखोलाको मोटरेवल पुल नहुँदा पैदलयात्रीलाई आवतजावतमा सवारी साधन लगायतमा समस्या हुँदै आएको थियो । झिङ्गेखोलाले सास्ती दिँदै आए पनि पुल निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् ।
निर्माण समितिका अध्यक्ष गोकुल रावलले झ्याङखोलस्थित पुल बेँसीशहर नगरपालिकाको रु ११ लाख र श्रमदान रु एक लाख १० हजार गरी कूल रु १२ लाख १० हजारमा पुल निर्माण भएका जानकारी गराएका छन् ।
नगरपालिकाले गत वर्षको योजनाबाट बेसीँशहर नगरपालिका वडा नं २ मा रहेको भकुण्डे–राक्से–सानो धिमिरे सडकखण्डमा पर्ने खहरेखोलामा झण्डै रु ३० लाखको लागतमा मोटरेवल पुल निर्माण गरिसकेको छ ।