पोखरा, जेठ २६ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री प्रकाशशरण महतले सरकारले संवैधानिक निकायलाई कमजोर बनाउँदै हरेक निकायको अधिकार आफ्नो मुट्ठिभित्र राख्दै अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आइतबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले दुई तिहाइको दम्भमा सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
नेता महतले वर्तमान सरकार अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रेसलगायतका संस्थालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा सक्रिय रुपमा अघि बढेको औंल्याएका छन् । उनले भने,‘अरबौ रुपैयाँ भ्रष्टाचार भएका मुद्दाहरू बाहिर आउँदा समेत अख्तियार लगायतका संस्था मौन बस्छन् यो केको संकेत हो ? भनी प्रश्न गरे । महतले पार्टी कै सभापति भ्रष्टाचारी भए पनि छाड्न नहुने जिकीर गरेका छन् ।
भ्रष्टाचारमा सरकार आफैं संलग्न रहेको बताउँदै उनले भने, सरकारले छानबिन समिति बनाउने त कुरै किन पो गर्थो र, भ्रष्टाचार गर्ने मन्त्री र नेताको समेत बचाउ गर्न सरकार सधै सक्रिय नै हुन्छ नि । तर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि मौन बस्नुले देश अब कता तिर जादै छ भन्नेमा शंका रहेको बताएका छन् । सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले कुरा गर्ने काम नगर्ने प्रवृत्ति देखिएको जानकारी गराउँदै आम जनताले वर्तमान सरकारबाट समृद्धिको आशा गर्नु ठूलो भूल हुने औंल्याएका छन् ।
बहुमतको ओली सरकारबाट जनताले आशा र अपेक्ष धेरै गरेको प्रस्ट्याउँदै उनले भने, सरकारले जनताका आशा र अपेक्षा पूरा गर्न कहिल्यै सक्दैन । सरकारले संविधानमा उल्लेख भए अनुसारको पूर्ण प्रेस स्वतन्त्रलाई आफ्नो अनुकुल बनाउनका लागि अनावश्यक विधेयक ल्याउन लागेको आरोप लगाएका छन् । नेता महतले समग्र पत्रकार जगत नै सडकमा उत्रदै गर्दा पनि सरकार बेखबर जस्तै बन्नुले देशमा ठूलो सड्यन्त्र हुँदैछ भन्ने संकेत गर्न खोजेको समेत बताएका छन् । सरकारले पत्रकारका मागलाई सम्बोधन गर्दै पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नु पर्ने उनको धारणा छ ।
उनले देशमा असुरक्षा, मजदूर आन्दोलन, लगानी मैत्री वातावरण नहुनुको साथै नेताको व्यक्तिगत सेवा सर्त पूरा गर्नुपर्ने भएकाले विदेशी लगानीको नभएर स्वदेशी लगानीकर्ता समेत लगानी गर्न अघि नसरेको उनको भनाई छ । नेता महतले अहिलेकै अवस्थामा दुई अंकको आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले पार्टीको आन्तरिक निर्वाचन समय आएपछि हुने भन्दै अहिले नै निर्वाचनका लागि ढोल पिट्ने बेला नभएको जनाएका छन् । उनले पार्टीलाई बलियो बनाउन जागरण अभियानले ठूलो भूमिका खेलेको समेत प्रष्ट पारेका थिए ।