गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा पर्यटन विकासमा बाधा पुग्ने

गोरखा, जेठ २६ । प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागीता जनाउने क्रममा शनिबार साँझ सो स्थानमा पुगेका सभापति देउवाले आइतबार बिहान गोरखा दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गरेका हुन् ।

उनले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको पुनःनिर्माणमा ढिलाइ हँुदा सो स्थानको पर्यटन विकासमा बाधा पुग्ने जानकारी गराएका छन् । जति सक्दो छिटो दरबार पुनःनिर्माण गर्नु पर्ने बताउँदै सभापति देउवाले भने, सरकारले पुरातात्विक महत्व बोकेका एतिहासिक क्षेत्रको विकासलाई प्राथामिकतामा राख्नु आवश्यक छ ।

उनले दरबार पुनःनिर्माणको अवस्था हेर्दा अत्यन्तै सुस्त गतिमा काम भएको पाइएको भन्दै पुनःनिर्माणलाई तीव्रता दिन पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरेका छन् । सभापति देउवाले धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि रहेको जनाएका छन् । सभापति देउवाले कालिका भगवती र गुरु गोरखनाथको मन्दिरमा पगि पूजाआजा समेत गर्न भ्याएका थिए ।

सभापति देउवाले दरबार पूर्णरुपमा भत्काइएकाले नियमित पूजापाठमा भएका समस्याका बारेमा जानकारी लिएर सो स्थानका समस्याका बारेमा छलफल गरेका थिए । उनले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा नियमित पूजाका लागि सरकारले उपलब्ध गराउँदै आएको बजेटमा कटौती हुन नहुनेमा समेत जोड दिएका छन् ।