५१ वटा स्वास्थ्य संस्था मात्र सूचीकृत भए

काठमाडौं, जेठ २७ । सरकारले वैदेशिक रोजगारीका शिलशिलामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि ५१ वटा स्वास्थ्य संस्थालाई सूचिकरण गर्दै सूचीकृत गरिदिएको छ । सूचीकरणका लागि आवेदन दिएका १२६ वटा स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड नपुगेकालाई सूचिकरणमा सामेल नगराउँदै मापदण्ड पूरा भएका ५१ वटा मात्र स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयले गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरेको थियो । कामदारको स्वास्थ्य परीक्षण गर्न राजधानीका नाम चलेको ठूला अस्पताललाई समेत सूचीकरणमा समावेश गरिएको छ ।

नक्खुको नेपाल मेडिसिटी अस्पताल, त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल, माइतीघरको अन्नपूर्ण न्यूरो अस्पताल, बानेश्वरको एभरेष्ट अस्पताल, स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, धापासीको ग्रीनसिटी अस्पताल, पोखराको सनसाइन हेल्थ केयर सेन्टर, विर्तामोडको बिएण्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्ज प्रालि, भरतपुरको चितवन मेडिकल कलेज प्रालिलगायत ठूला अस्पताल पनि सूचीकृत भएका छन् ।

सामान्यतय स्वास्थ्य परीक्षणका लागि ठूला अस्पताल सूचीकरणमा परेकाले विगतमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका क्रममा देखिएका बेथिति अन्त्य हुने विश्वास गरिएको छ । यसअघि साना लगानीमा खुलेका स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण र दक्षजनशक्तिको व्यवस्था नगरी स्वास्थ्य परीक्षणको ‘रिपोर्ट’ दिने गरेको आरोप लाग्दै आएको थियो ।

पछिल्लो समय नेपालकै ठूला मानिएका अस्पतालहरुले पनि कामदारको स्वास्थ्य परीक्षण गर्न चासो देखाएकाले ‘रिपोर्ट’ वास्तविक आउने र कुनै कामदार विदेश गइसकेपछि स्वास्थ्य समस्याका कारण स्वदेश फर्कन नपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचीकरणमा परेका स्वास्थ्य संस्थालाई सात दिनभित्र धरौटी रकम र सूचीकरण शुल्क बुझाउन आग्रह गरेको छ । सूचीकृत संस्थाले धरौटीवापत रु तीन लाख २५ हजार र सूचीकृत शुल्क रु २५ हजार बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।