कांग्रेस नेता गगन थापाद्वारा सूचना प्रविधि विधेयकविरुद्ध उत्रन आह्वान

काठमाडौं, असोज १ । सूचना प्रविधि विधेयकविरुद्ध उत्रन नेपाली कांग्रेसका सांसद गगन थापाले आव्हान गरेका छन् । थापाले संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रस्तावित कानुन संविधान, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको भन्दै यसविरुद्ध बोल्न, लेख्न र जनमत निर्माण गर्न सांसद तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरलाई आपील गरेका छन् । उनका अनुसार विधेयक पारित भए कोही पनि सुरक्षित नहुने ठहर छ ।

विधेयकमा सामाजिक सन्जालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लाखसम्म जरिवाना गर्ने व्यवस्था सांसद थापाले रहेको भन्दै, जिस्क्याउने, झुक्याउने, होच्याउनेजस्ता अस्पष्ट कानुनी प्रावधान राखिएको बताए ।

भारतको भन्दा कठोर कानुन बनाउन लागिएको भन्दै उनले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन अपील गरेका छन् ।

सरकारको नियत लेखक ब्रजेश खनालले भनेजस्तै रहेको देखिएको थापाले जिकिर गरे । थापाले खनालको उद्दरण उद्दृत गर्दै भने, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु । तँ हेर त्यतिमात्र, जति म देखाउन चाहन्छु । तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु । तेरो स्वतन्त्रता घेरा मैले कोरेको शुन्यभन्दा बाहिर छैन । किनकी मलाई चिनेको छस्, म हुँ सरकार । हुँ म तेरो सरकार ।’

उनले आफ्नो कथा, सम्वाद, गीतमा कसैलाई जिस्क्याउने कन्टेन्ट भए होसियर रहन चलचित्रकर्मीलाई आग्रह समेत गरे । उनले प्रधानमन्त्रीकै पार्टी्भित्र रहेर फरक मत राख्नेहरु पनि होसियार हनुपर्ने बेला आएको भन्दै, ‘यहाँ अब कोही सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौं । मुलुकमा केवल सरकारको अरिङ्गालहरु मात्र सुरक्षित हुने दाबी गरे ।