काठमाडौं, असार ८ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भने, सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।
अर्थमन्त्री डा खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको जानकारी गराएका छन् । दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको स्पष्ट पार्दै उनले भने, दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ । अर्थमन्त्री डा खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताएका छन् । उनले ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने समेत बताए ।
अर्थमन्त्री डा खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाएकी छिन् । सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भनी प्रश्न गरेका थिए । अर्थमन्त्री डा खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य रहेको जनाएका थिए । उनले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै विप्रेषणको रकम उपयोग भइराखेको जानकारी गराएका छन् ।