इलाम, असार ९ । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्य्विधि, २०७५ बनाएर न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो रु ४० कायम गरेको थियो । अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तरअनुसार तोकेको मूल्य दिन नसक्ने उद्योगीले बताएका छन् ।
नगरपालिकालाई पत्र पठाएर असार १२ गतेदेखि कारखाना बन्द गर्ने निर्णय एशोसिएसनले गरेको छ । यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा उद्योगीले मूल्य दिँदै आएका थिए । नगरपालिकाले यसपटकदेखि उद्योगीसँग कुनै छलफल नगरी एकलौटी ढङ्गले दरभाउ तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नुपरेको कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले जानकारी गराएका छन् ।
चिया उद्योगीको पीर मर्कालाई कहिल्यै नबुझेको, राज्यले सेवासुविधा दिनुपर्नेमा उल्टै दरभाउ तोकिँदा उद्योगी धराशायी बन्न पुगेको सरकारले बताउँदै पत्रमा एशोसिएसनले यस सम्बन्धमा नगरपालिकाले पनि सम्बोधन गर्नुपर्ने माग गरेको छ ।