काठमाडौं, असार ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवम् पूर्व मन्त्री गगनकुमार थापाले वनमन्त्री शक्ति बस्नेतले संविधान र ऐन विपरीत ‘यार’ पोस्न खोजेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वन मन्त्रालयले संरक्षित क्षेत्रभित्र पर्यटकीय सेवा सञ्चालन तथा नियमनसम्बन्धी कार्यविधि ०७५ जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको भन्दै त्यसमा आपत्ति जनाएका हुन् ।
सांसद थापाले कार्यविधि बनाउँदा मन्त्रीको सोचमात्र नभई नियत नै गलत रहेको समेत आरोप लगाएका छन् । संसदले ऐन बनाउने, ऐनमा के गर्ने भनेर तोकिएपछि मात्र नियम र कार्य्विधिले कसरी गर्ने भन्ने कुरा तोक्न पाइने भएपनि मन्त्री बस्नेतले त्यसविपरीत ऐनमै नभएको कुरा कार्यविधिमा ल्याएको थापाले जिकिर गरेका छन् ।
सांसद थापाले संविधानको भावना र ऐनमा भएको व्यवस्था विपरीत कार्यविधि बनाएको भन्दै वनमन्त्री बस्नेतलाई संसदमा बोलाउन पनि सभामुखको ध्यानाकर्षण गराएका छन् । “यस्तो कार्यविधि लागु हुनुको अर्थ हो खप्तडमा रिसोर्ट, ढोरपाटनदेखि शिवपुरीसम्म रिसोर्ट र होटल, लाङटाङ, गौरीशंकर, मनास्लु, सगरमाथादेखि रारा तालसम्म होटल रिसोर्टहरु खोल्ने,” सांसद थापाले भने, यतिमात्र होइन, सभामुख महोदय, यी ठाउँहरुमा केवलकार सञ्चालन हुनेछन्, रापेवे चल्नेछन्, जिप सफारीदेखि लाइट माउन्टेन फ्लाइटसम्म चल्नेछन् ।
यो सोच नै गलत छ । यसरी दोहन गर्दा कुनै पनि स्रोत बाँकी रहँदैन । स्रोतको संरक्षण गरेर लाभ लिने हो । तत्कालको लाभको निम्ति समग्र स्रोत नै नष्ट गर्ने होइन । उनले पर्यटकीय सेवा, क्रियाकलाप र साहसिक पर्यटन भनेर नयाँ परिभाषा मन्त्रीस्तरबाट कार्यविधिमा थपिएको बारे चर्चा गरेका थिए ।
सांसद थापाले कार्यविधिमा भएको प्रस्ताव माग गर्ने, मूल्यांकन गर्ने विधिले प्रष्ट बनाउँने बताउँदै भने, यो कसलाई दिने हो भनेर । ‘यार’ पहिले छानिएको छ,” थापाले भने, केही साहुहरुलाई पोस्नका निम्ति साहुहरुको चाहनामा कार्यविधि बनाएर ऐनलाई छलेर मन्त्रीको स्तरबाट गर्न खोजेको कुरा कार्यविधिलाई हेर्दा प्रष्ट देखिन्छ ।