काठमाडौं, असार ९ । तोकिएको गतिभन्दा द्रुत गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । यही जेठ २८ देखि सो नियम लागू गरेर महाशाखाले कारवाही गर्दै आएको छ ।
तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी दिएका छन् । उनले “कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडकखण्डमा ५० भन्दा बढी स्पिड चलाउने सवारी साधनलाई कारवाही गर्दै आएको समेत जानकारी गराएका छन् ।
उपत्यकामा चालू आर्थिक वर्षमा मात्र २३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले बताएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।