काठमाडौं, असार १० । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)को घाटा दिन प्रति दिन चुलिदै गएको छ । नेपाल एयरलाइन्सले आफ्नो घाटालाई घटाउने मुल उद्देश्यका साथ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने निर्णय गरेको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जानकारी गराएको छ ।
नेपाल वायु सेवाको घाटाका विषयमा चौतर्फि चर्चा चलिरहेकै वेला उक्त संस्थाले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गरेको हो । सो निगमले उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताएका छन् । निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको उनले सुनाए ।
ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको उनको भनाई छ । निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्ने तय गरेको छ । निगमले यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा अबका दिनमा १४ उडान पु¥याएको हो । उक्त गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना रहेको छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पु¥याइएको छ ।
निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालीम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जानकारी गराएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालीम सम्पन्न भइ जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत बताइएको छ ।
निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरुप हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालीम गरिरहेको जनाइएको छ । साथै दुई वर्षदेखि रोकिएको को–पाइलटको तालीम सञ्चालन गराई एक जनाको तालीम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्तिको प्रक्रियामा रहेको बताइएको छ ।
आगामी साउन मसान्तभित्र सम्पन्न गर्ने गरी बाँकी तीन जनाको तालीम पनि सञ्चालन भइरहेको जताइएको छ । अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महीनादेखि निगमका इञ्जिनीयरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी गराइएको छ । यसबाट निगमको मासिक रु ६० लाख बचत हुने निगमको ठहर छ । यसले निगमको घाटा कम हुँदै जाने समेत अनुमान गरिएको छ ।
निगमले गत जेठ महीनामा कन्टिन्युइङ एयरवर्डिनेश म्यानेजमेन्ट विभागले (आइएसओ ९००१ः२०१५) को सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । भूमिस्त व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ) तर्फ आयटाले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेकाले यसबाट अन्तर्राष्ट्रियस्तरको उडान सुरक्षाको सुनिश्चितता हुने पनि निगमले दाबी गर्दै आएको छ ।
आज भोलि निगमले दुई वाइडबडी, दुई न्यारो बडी र एक बोइङमार्फत विभिन्न मुलुकका आठ गन्तव्यमा उडान भर्दै आएको छ । नेपालको एक मात्र इतिहास बोकेको नेपाल एयरलाइन्सलाई बचाउन र यसलाई थप व्यवस्थित बनाउन निगमले अन्य नीति तथा कार्यक्रम ल्याउने जनाइएको छ ।