ललितपुर महानगरद्वारा ५ अर्व १७ करोड ९६ लाख ३२ हजारकाे बजेट प्रस्तुत

ललितपुर, असार १० । ललितपुर महानगरपालिकाको चौथा नगरसभाले आर्थिक वर्ष ०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । मंगलबार ललितपुरमा भएको नगरसभामा महानगरका मेयर चिरीबावु महर्जनले ५ अर्व १७ करोड ९६ लाख ३२ हजार रुपैयाको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । मेयर महर्जनले ललितपुरका सांस्कृतिक सम्पदा संरक्षण र पुननिर्माणमा जोड दिने वताउँदै सो वजेट प्रस्तुत गरेका छन् ।

मेयर महर्जनले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महानगरभित्र अव बन्ने पूर्वाधार अपाङ्गगतामैत्री हुने जानकारी गराएका छन् । उनले नगरपालिकाभित्रका वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान प्राथामिकतामा रहेको समेत स्पष्ट पारेका छन् । नगरसभामा प्रस्तुत नीति, कार्यक्रम भनिएको छ, ‘प्रत्येक वडामा न्यूनतम् १ सार्वजनिक शौचालय र सार्वजनिक स्थल उपलब्ध भएसम्म एक हरियाली पार्क निर्माण गर्ने नीति’ लिइनेछ ।’

मेयर महर्जनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मंगलबजार, जावलाखेल, लगनखेल लगायतका स्थानमा तोकिएको संरचना र अवधिअनुसार सञ्चालनमा ल्याउने गरी निजी सार्वजनिक साझेदारी अवधारणामा सार्वजनिक शौचालय निर्माण गर्ने उल्लेख गरिएको छ । ललितपुर महानगरपालिकाको वडा नं. २४ मा महानगरीय सभा गृह र वडा नं. २७ मा महानगरीय अस्पताल निर्माणका लागि डिपिआर तयार गरी कार्यान्वयनमा ल्याउने विषयलाई पनि नीति तथा कार्यक्रममा प्राथामिकताले प्राथमिकता दिएको पाइन्छ ।

यसैगरी महानगरीय व्यवसायिक शिक्षालय निर्माणका लागि उपयुक्त स्थानको खोजी गरेर डिपिआर तयार गरिने समेत कार्यक्रममा प्रस्तुत गरिएको छ । नेपाल विद्युत प्राविधकरण, नेपाल टेलिकम, नेपाल दुरसञ्चार प्राधिकरणको समन्वयमा महानगरपालिकाभित्रका ऐतिहासिक पुरातात्विक पर्यटकीय स्थलमा रहेका विद्युतीय तारहरुलाई हटाउने कार्यको थालनी गर्ने मेयरद्धारा प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

पाटन सम्पदा क्षेत्रमा मोटरसाइकल समेतलाई निशेधित क्षेत्र घोषणा गर्ने र नगर क्षेत्रमा विद्युतीय गाडीलाई प्राथामिकता दिइने विषयलाई पनि महानगरको नीति कार्यक्रममा समावेश गरिएको छ । त्यसैगरी नक्सा दर्ता गरी दुई वर्षसम्म सम्पर्कमा नआएका घरधनीहरुको नक्सा स्वतः खारेज हुने र दर्ता नक्सा लगतबाट कट्टा गरिने समेत उल्लेख गरिएको छ । साथै वि.सं.१९९० को भूकम्पमा परी लोप भएका महानगर क्षेत्र भित्र रहेका सम्पदाहरुको पुनः निर्माणको गर्ने विषयलाई महानगरले प्राथामिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यसको सुरुवात पाटन दरबार क्षेत्र भित्र रहेका मन्दिरहरुको पुनःनिर्माणबाट सुरु गर्ने नीति महानगरले अपनाएको छ । ऐतिहासिक ढुङ्गेधारा तथा ईनार संरक्षण गर्ने हेतुले आकाशेपानी संकलन प्रणाली अनुसार घर निर्माण कार्यलाई प्रोत्साहन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै टिकाभैरब राजकुलो १ र २ लाई महानगर भित्र ल्याउने र कृषि योग्य जमिनमा सिंचाई गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने विषयलाई महानगरले नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

एक घर एक उद्यमीको अवधारणावाट नगरमा रहेका प्रत्येक घरमा उद्यम सृजना गर्ने गरी क्षमता विकासका कार्यक्रम सन्चालन गर्ने नीति ललितपुर महानगरको रहेको छ । त्यसैगरी महिला उद्यमीद्धारा उत्पादित सामानहरु विक्री प्रवद्र्धनको प्रचारप्रसार गर्न महानगरपालिकाको स्वामित्वमा रहेका पसल कवलमध्ये एउटा पसलमा महिला उद्यमीहरुबाट उत्पादित सामानहरुको विक्री वितरण गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । विषादीरहित करेसाबारी तथा कौसीखेती प्रबद्र्धन र कृषिमा आधुनीकीकरण गरिने समेत महानगरको लक्ष्य रहेको छ ।

२९ वटै वडामा महिला तथा विपन्न वर्ग सशक्तिकरण कार्यक्रमहरु सञ्चालन गरिने र निर्णायक तहमा महिला नेत्रृत्वका लागि महिलाको सहभागीता सुनिश्चित गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरका प्रत्येक विद्यालयमा वाल विकास केन्द्र स्थापना गरी दिगो संचालन र व्यवस्थापन गर्दै विद्यालय भर्नाको लागि विद्यार्थी तयार गर्ने वातावरण सृजना गरिनेछ लक्ष्या पनि महानगरले लिएको छ । युवा लक्षित स्वरोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी वढाउने नीति लिईने बताइएको छ ।

एकल महिला, जेष्ठ नागरीक, आपाङ्गता भएका व्यक्ति, बेवारीसे बालबालिकाको सहज जीवन यापन तथा क्षमता विकासका लागि एकिकृत आश्रमको अवधारणा कार्यान्वयनका लागि पहल गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सबै सामुदायिक विद्यालयमा बालमैत्री, आपाङ्गता मैत्री र छात्रछात्राका लागि छुटाछुटै शौचालय, शुद्ध पिउने पानी, उचित पुस्तकालय, विज्ञान प्रयोगशालाको व्यवस्थाका साथै स्वच्छ वातावरण निर्माण र ठुला कक्षाका छात्रा विद्यार्थीहरुका लागि स्यानेटरी प्याड व्यवस्थापन गरिनेछ ।