ललितपुर, असार १० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयताको कार्यान्वयन गर्दै सिंहदरवारको अधिकार ७५३ वटै स्थानीय सरकारलाई दिइएको जानकारी गराएका छन् । मन्त्री पण्तिले अधिकारको सही उपयोग गर्न समेत स्थानीय तहलाई निर्देशन दिएका छन् ।
मन्त्री पण्डितले भने, ‘सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने कुरालाई गलत व्याख्या गरिएको छ, सिंहदरवारको ईटा हैन, अधिकार पठाएको हो, सही तरिकाले अधिकारको प्रयोग गर्न पछि नपर्नुस्, अधिकार कसैले खोस्दैन ।’ मन्त्री पण्डितले कर्मचारीलाई जनप्रतिनिधिको शिर नझुक्ने गरी काम गर्न समेत निर्देशन दिएका छन् । ललितपुुर महानगरपालिकाको चौथो नगरसभामा प्रमुख आतिथ्यताको मन्तव्य राख्दै उनले भने, ‘चुनावका वेलामा राजनीति गर्ने हो, विकास निर्माण र सेवा प्रवाहमा राजनीतिको कुनै गन्ध आउन दिन्न ।’
उनले कानूनले सम्भव भएसम्म जनताको पक्षमा निर्णय गर्न जनप्रतिनिधिहरुलाई साथ दिने वताए । मन्त्री पण्डितले भने, ‘कुनै समस्या छ भने मन्त्रालयमा भन्नु होला, त्यो समस्याको निकास दिन्छु ।’ मन्त्री पण्डितले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या समाधान गर्नका लागि बञ्चरेडाँडामा आफ्नै पहलले डम्पिङ साइज द्रुत गतिमा निर्माण भइरहेको दावी गरे ।
अहिलेका जनप्रतिनिधिहरुलाई सबैले निगरानी गरेको वताउँदै मन्त्री पण्डितले भने, ‘कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरु ठेकेदारको रुपमा देखिएका छन्। ओपन सेक्रेट झै भएका छन् । त्यस्तो हुनु भनेको अपराध हो ।’ उनले नविराउनु, नडराउनु भन्ने नेपाली भनाइलाई उदृत गर्दै राम्रो काम गर्नेहरुले शीर उठाउन सक्छन् । जस्तोसुकै प्रश्नको पनि जवाफ दिन सक्छन् भन्दै गल्ती नगर्न जनप्रतिनिधि र कर्मचारी खवरदारी गरे ।
मन्त्री पण्डितले जनताको राजश्वबाट उठेको पैसा लगानी गर्दा विचार पु¥याउन आग्रह गर्दै सही निर्णय गर्न जनप्रतिनिधिहरुलाई सचेत गराए । उनले भने, ‘जथाभावी खर्च नगर्नुस्, प्रतिफल आउने काममा मात्रै खर्च गर्नुस् ।’ महानगरको चौथो नगरसभामा ललितपुर क्षेत्र नं. २ का प्रतिनिभिसभा सदस्य कृष्णलाल महर्जनले स्थनीय सरकार जनताको आवश्यकता पूर्तिका लागि प्रभावकारी बनाइनु पर्ने वताए ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले बजेट विनियोजितको कार्यान्वयन गर्दा अत्यन्तै सचेत भएर काम गर्न सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने वताइन् । उपमेयर सत्यालले ललितपुर महानगर कला, संस्कृति र सम्पदाको शहर भएकाले आगामी आर्थिक वर्षको बजेटमा यी क्षेत्र प्रथामिकतामा परेको वताइन् । उनले सार्वजनिक सेवा प्रवाह सुशासन र पारदर्शिता महानगरको मूल मन्त्र भएको स्पष्ट पारिन् ।
उनले लैङ्गिक तथा घरेलु हिँसा नियन्त्रण गर्न कानूनको अभिमुखीकरण सञ्चालन गर्ने वताइन् । उपमेयर सत्यालका अनुसार ललितपुर महानगरले बालमन्त्री स्थानीय तह निर्माण गर्न वालवालिकाको स्थितिपत्र, पाश्र्वचित्र तयार गरी सोका आधारमा बाल रणनीतिक योजना तर्जुमा गर्ने छ । महानगरको चौथो नगरसभामा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, नेपाल नगरपालिका कर्मचारी एशोशियशन इकाईका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज अवालेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।