रिमालको एकल प्रदर्शनीमा चार सयले अवलोकन

काठमाडौं, असार १३ । एकल प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताले आर्किटेक्ट इञ्जिनीयर तथा चित्रकार शङ्करनाथ रिमालको अवलोकन गरेका हुन् ।

रिमालले असार ५ गतेबाट प्रारम्भ भएको प्रदर्शनीमा लगभग चार सयले अवलोकन गरेको जानकारी दिएका छन् । उनले प्रदर्शनीका क्रममा आगामी दिनमा उनको कलालाई थप निखार्दै जाने एवं अन्य सकारात्मक सुझाव समेत दिएका छन् ।

उनको निजी निवास नक्साल, नारायणचौरमा शशिशङ्कर ग्यालरीसमेत प्रदर्शनीमार्फत विस्तार गरेको उनी बताउँछन् । निजीस्तरबाट सञ्चालित भएकाले सधैँभरि खुला हुँदैन, अवलोकन गर्न चाहनेले सम्पर्क गरेर आउन सक्ने समेत बताए ।

रिमालको चित्रकला र मूर्तिकला आधुनिक परम्परागत शैलीसँग सम्बन्धित रहेका छन् । रिमालको ग्यालरीमा ३५ चित्र, १५ मूर्ति, लगभग ५० भन्दा बढी आर्किटेक राखिएका छन् ।

रिमालको यो पहिलो एकल प्रदर्शनी हो । रिमालको परिवारका सदस्यहरुको पारिवारिक जमघटबीच प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।