पार्टीभित्र सुधार र परिवर्तन आवश्यक : वरिष्ठ नेता पौडेल

चितवन, ओसार २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने समेत स्पष्ट पारेका छन् ।

उनले पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको जनाउँदै समयमा नै महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन् । नेता पौडेलले आफु नहुँदा पनि एकता हुन सके अरुका लागि छाड्ने बताएका छन् । उनले भने, जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ । पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको बताउँदै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी गराएका छन् ।

पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टीभित्र छलफल भइरहेको प्रष्ट पारेका छन् । नेता पौडेलले कांग्रेसलाई बलियो बनाउनका लागि तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको समेत बताएका छन् ।

सरकारको विकल्प कम्युनिष्टबाट सम्भव नरहेको भन्दै उनले अब कांग्रेस तयार हुनुपर्ने औंल्याएका छन् । जनताको अगाडि भरोसाका रुपमा कांग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उनले गणितले केही पनि नगर्ने बताएका छन् । नेता पौडेलले नेपाली कांग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अङ्क गणितले असर नपर्ने जिकीर गरेका छन् ।

उनले सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाएका छन् ।