काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर आज छलफल हुँदै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा केन्द्रित रहेर छलफल हुने पार्टी कार्यालयले जानकारी गराएको छ ।
कांग्रेसले आगामी भदौ पहिलो साताभित्रै पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारको तयारी गरेको र सो विषयमा पनि छलफल हुने छ । बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।
त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।