विश्वकप एशिया छनोटका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं, असार २४ । सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्नेका लागि सो तर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा १४ जना सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना सहित विशेष कार्यक्रमको आयोजना गरि राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालको नेतृत्वमा उनीहरुलाई बिदाइ गरिएको हो ।

सिङ्गापुरमा आयोजना हुने उक्त आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया जान लागेका हुन् । नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गरेका हुन् । मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ ।

टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जाने भएको छ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्ने तय भएको छ । त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्ने भएको छ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउने भएका छन् ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया रहेका छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।