उद्धार र राहतलाई तिब्रता दिदै प्रम देउवा निरीक्षणमा

काठमाडौं, साउन ३०। बाढी प्रभावित क्षेत्रको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले निरीक्षण तथा अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री देउवा लगायत गृहमन्त्री, रक्षामन्त्री र सुरक्षा अंगका प्रमुखहरु काठमाडौंबाट बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् ।

उनीहरुले पूर्वका रौतहट, सुनसरी, इटहरी, सप्तरी लगायत क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छन् । पूर्वपछि पश्चिम नेपालको बाढी र डुबान प्रभावित क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले अवलोकन गरेर फर्किएपछि बाढी पीडितको पुनर्वासको लागि अल्पकालीन र दिर्घकालीन योजना बनाउने तयारी गरिएको बताइएको छ । अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र न्यूनतम आवश्यक सामग्री राहतस्वरुप प्रदान गर्ने कार्य जारी गरिएको छ ।

बाढी र पहिरोले २६ जिल्ला प्रभावित भएका छन् । ति जिल्लामा मृत्यु हुनेको संख्या झण्डै ७० पुगेको छ । केही दिन यता बाढीले बिचल्नी बनाएका जनताले लामो सकस र दुःख पश्चात केही राहत र साहस पाउन थालेका छन् । विभिन्न संघ संस्था, भातृ संगठन तथा राजनीतिक दलका नेता तथा कार्यकर्ता बाढी प्रभावित क्षेत्रमा पुगी राहत सामग्री वितरणको कार्यमा लागिरहेका छन् ।