इलाम कफीको व्यावसायिक खेती शुरु

इलाम, साउन ३ । नेपालको पूर्वी इलाको हो इलाम जसलाई चियाको राजधानी समेत भन्ने गरिएको छ । त्यस ठाउँमा मानिसहरु चिया किन्न मात्र हैन उनीहरु चियाबारी घुम्न र अहिले जमाना भन्नै पर्दा सेल्फी लिन समेत आउने गर्छन् ।

सौभाग्यको कुरा के छ भने, पछिल्लो समय चियाका लागि मात्र प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । कफीको व्यावसायिक खेती गर्न किसानले थालेपछि उत्पादनमा समेत वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश नं १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ ।

उक्त सर्वेक्षणका अनुसार प्रदेश नं १ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले त्यसमध्ये इलाममा २३६ किसानले व्यावसायिक कफीखेती गरिरहेको बताएका छन् । विभागले ५० बोटभन्दा बढी कफी लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ ।

उनले “व्यावसायिक कफीखेतीको सर्वेक्षण भएकाले ५० बोटभन्दा कम हुनेको तथ्याङ्क भने नलिइको समेत भने । तथ्याङ्क सङ्कलनको काम विसं २०७४ मा भएकाले त्यसयता खेती थालेका किसान छुटेका छन् ।
इलाममा पछिल्लोपटक कम्पनीमार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४०० रोपनीमा कफी लगाइँदैछ ।