काठमाडौं, साउन ३० । युवा कवि वाक्सेली थापाद्वारा लिखित भष्मासुरको देश नामक कविता कृति वरिष्ठ राजनीतिज्ञ एवं चिन्तक प्रदीप गिरी, वरिष्ठ कवि तथा प्रथम महिला प्राज्ञ तोया गुरुङ्ग र कवि तथा संचारकर्मी डा. नवराज लम्सालद्वारा संयुक्त रुपमा विमोचन भएको छ । राजधानीको भृकुटीमण्डपमा आज आयोजित समारोहमा उहाँहरुले कवि वाक्सेली थापाको प्रथम कविता संग्रहको विमोचन गर्नु भएको हो ।
विमोचन समारोहमा प्रमुख अतिथि प्रदिप गिरीले विगत २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीप्रति सहानुभूति व्यक्त गर्दै कविता–उत्सव पनि विरोधको एउटा रुप हुने विचार व्यक्त गर्नु भयो । कविताको नवरसमाथि प्रकाश पार्दै उहाँले वाक्सेली थापाको कविता संग्रहमा संग्रहित सबै कविताहरु विषयवस्तु र प्रस्तुतिका हिसाबले सुन्दर भएको बताउनु भयो ।
सोही अवसरमा अर्का विशेष अतिथि वरिष्ठ कवयित्री तोया गुरुङ्गले भष्मासुरको देश संग्रहमा संग्रहित कविताहरु वर्तमान समयको आवाज भएको स्पष्ट पार्नु भयो । स्रष्टा यान्त्रिक पक्षमा नगई भावनात्मक पक्षमा जानु पर्ने सुझाव दिदै कवयित्री गुरुङ्गले आम नेपालीलाई भष्मासुर प्रवृतिले दिनानुदिन नराम्ररी खाइरहेको विचार व्यक्त गर्नु भयो । साथै उहाँले हरेक युगमा भष्मासुरहरुको उदय हुन्छ भन्दै त्यस्ता प्रवृतिलाई हामीले चिनेर परास्त गर्नुपर्ने बताउनु भयो । विषयवस्तु र प्रस्तुति उत्कृष्ट रहेता पनि कतिपय कविताका शब्द चयनमा बिशेष ख्याल दिन सकेको भए उक्त कविताहरु थप उत्कृष्ट हुने उहाँको टिप्पणी रहेको थियो ।
सोही अवसरमा विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कविता सुन्दर हुनका लागि विचार पनि सुन्दर हुनुपर्ने बताउनुभयो । आफ्नो इतिहास र संस्कृतिमा टेकेर मौलिक साहित्य सिर्जना गर्न स्रष्टाहरुलाई आग्रह गर्दै भष्मासुरको देश कविता संग्रहमा महिलाको पक्षमा ओकालत गर्ने उत्कृष्ट कविता भएको विचार व्यक्त गर्नुभयो । डा. लम्सालले उक्त कृतिमाथि टिप्पणी गर्दै कवि वाक्सेलीले कवितामा लोकप्रिय नारा प्रस्तुत नगरी वर्तमान राजनीति विकृति, समसामयिक घटनाक्रम, जीवन, प्रेम लगायतका गम्भीर विषयमा उत्कृष्ट कविता सिर्जना गरी वर्तमान प्रवृतिमाथि जोडदार प्रश्न गर्नु भएको कुरा बताउनु भयो ।
बालाजी पब्लिकेशनद्वारा प्रकाशित भष्मासुरको देशमा कवि वाक्सेली थापाका हालसम्म अप्रकाशित ५१ वटा कविता समेटिएका छन् ।