उद्योग वाणिज्य सङ्घद्वारा रङ्गशाला निर्माणका लागि सहयोग

चितवन, साउन ९ । उद्योग वाणिज्य सङ्घ चितवन शाखाले धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई सङ्घका अध्यक्ष सहनलाल प्रधानले आज उक्त मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर रु एक करोड पु¥याउने जानकारी समेत दिएका छन् । सङ्घले यसअघि नै रङ्गशालाका लागि रु एक करोड सहयोग गर्ने घोषणा पनि गरेको थियो । जिल्ला क्रिकेट एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले उक्त समारोहमा पनि रु दुई लाख ५५ हजार ५५५ को चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका थिए । रङ्गशालाका लागि आवश्यकपर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

सोही सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गरेका थिए । अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै जिल्लावासीबाट सहयोग जुट्नेक्रम बढ्न थालेकाले आफू उत्साहित भएको अनुभव समेत बताए ।

जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्नेक्रम शुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले धारणा व्यक्त गरेका छन् । स्थानीयवासीले जेठ १५ गते बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम सुचारु भएसँगै सहयोग रकम समेत जुट्न थालेको छ ।