काठमाडौँ, साउन १० । समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन काठमाडौँ महानगरपालिकाले प्रारम्भ गरेको छ । महानगरले डल्लु आवास क्षेत्रबाट सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको छ ।
स्थानीयवासीले घरमा काम नलाग्ने सबै कुरा फोहरको गाडीमा हाल्दा ठूलो परिमाणमा फोहर उत्पादन भइरहेकाले वर्गीकरण थालिएको र तीमध्ये कुहिने फोहरलाई सङ्कलन गर्ने गाडीमा नपठाएर स्थानीयस्तरमै व्यवस्थापन गर्न थालिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन् । उनका अनुसार घरघरबाट निस्कने फोहरमध्ये सबैभन्दा ठूलो परिमाणमा कुहिने फोहर हुने गरेको पाइएको छ । यिनको स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिने भएकाले अहिले हाम्रो ध्यान यसमा गएको हो ।”
प्रवक्ता डङ्गोलले कामपाले परीक्षणका रुपमा डल्लु क्षेत्रमा प्रारम्भ गरेको यो काम आगामी दिनमा अरु वडामा समेत विस्तार गर्दै जाने योजना रहेको जानकारी गराए । यहाँका ५० घरले एकै स्थानमा फोहर जम्मा गरिरहेका छन् । कुहिने र नकुहिने फोहरका लागि फरक–फरक गाडीसमेत व्यवस्था महानगरले गरेको छ । यसले गर्दा ल्याण्डफिल साइट जाने फोहरको परिमाण कम भएको उनले प्रष्ट पारे ।
कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएको छ । तीमध्ये कतिपय निजी संस्थाले पनि फोहरको वर्गीकरण शुरु गरेका उल्लेख गर्दै फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिने उनले जिकिर गरे ।”
दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । उक्त कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । सिसडोलमा काठमाडौँ उपत्यकाका १८ पालिकाले फोहर फाल्दै आएका छन् । फोहर विसर्जनका लागि सरकारले नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणसमेत शुरु गरेको छ ।