इमाडोल–लामाटार सडक निर्माण कार्य अन्यौल

ललितपुर, साउन १२ । इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त हुँदा जनतालाई मार परेको छ । यस सडकमा निर्माण कायैले तिव्रता नपाउँदा काम शुचारु भएको चारसम्मा अहिले झण्डै ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पाइएको छ ।

काठमाडौँ उपत्यका भित्रका विस्तारका क्रममा रहेका अन्य सडकहरु जस्तै यस खण्डको सडकमा पनि जग्गा र घरको मुआब्जा विवादका कारण भौतिक प्रगति कम रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताउँदै आएको छ । आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले काम गर्ने साइट खुला हुनुभन्दा पहिले नै ठेक्का लगाइएकाले लामो समय हुँदा पनि काम अघि बढ्न नसकेको जानकारी गराएका छन् ।

रुख, बिजुलीको पोललगायतका विभिन्न संरचना हटाउन नसकिएका कारण कामले तिव्रता नपाएको उनको भनाई छ । विद्युत्, खानेपानी, वन कार्यालय लगायतले पनि सडकमा रहेका उक्त संरचना हटाउन तदारुकता नदेखा पछि काममा अड्चन आएको उनले सुनाए । सो सडक निर्माणको जिम्मेवारी तीन फरक निमाण कम्पनीलाई दिइएको थियो । डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा निर्माणको जिम्मेवारी लिएका थिए ।

तीन कम्पनीमध्ये दुई कम्पनीको सम्झौता अवधि सकिसकेको छ भने एउटा कम्पनीको अवधि आगामी पुससम्म रहेको आयोजनाले बताएको छ । आयोजनाले चार वर्ष पहिलेदेखि काठमाडौँ उपत्यकाका १० सडक र तीन सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांशको निर्माण सुस्त छ । चाबहिल–साँखु र त्रिपुरेश्वरबाट कलङ्कीदेखि नागढुङ्गासम्मको सडक भने काम अघि बढेको छ । तर उक्त सडक क्षेत्रको कामले छिटै पूर्णता पाउँने लक्षण भने कमै देखिएको छ ।