साहित्यकार अप्सरा तिम्सिनाको निधन

हेटौडा, साउन १३ । ओखल्ढुंगा जिल्ला सुनकोसी गाउँपालिका सिस्नेरीमा जन्मिएर मकवानपुरलाई कर्म थलो बनाएकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको अल्प आयुमा आइतबार राती निधन भएको छ ।

स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति नै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गरेसकेकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उनी आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष समेत रहेकी थिइन् ।

उनको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् । तिमल्सिनाको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।