आयात प्रतिस्थापन गर्नुको विकल्प छैन : उपराष्ट्रपति पुन

काठमाडौं, साउन १३ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले जोड दिएका छन् । पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसन (नेफा) द्वारा आयोजित कार्यक्रममा उनले सबै नेपालीलाई समृद्ध, खुशी र सुखी बनाउन आयात प्रतिस्थापन गर्नुको विकल्प नरहेको जनाएका छन् ।

उनले भने, आजको विश्वबजारमा हामीले कुनै न कुनै वस्तुको आयात त गर्नैपर्ने हुन्छ । तर, जुन वस्तुको उत्पादन हाम्रो देशमा सम्भव छैन, त्यस्ता वस्तुमात्रै आयात गर्नेमा विशेष ध्यान दिनुपर्दछ । आयात गरिने वस्तुको मूल्यभन्दा अधिक मूल्य प्राप्त हुने गरी नेपालमा उत्पादन भएका बस्तुहरु विश्वबजारमा पु¥याउन सक्नुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपति पुनले नेपाली उत्पादनलाई विश्वव्यापी गराउन सकेमात्र व्यापार सन्तुलन गर्न सकिने जानकारी गराएका छन् उनले निर्यात व्यापारको वृद्धिमार्फत मात्रै समृद्ध नेपाल निर्माणको अभियानलाई साकार रूप दिन सकिने स्पष्ट पारेका छन् । निर्यात व्यापार वृद्धिका लागि कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले आयातभन्दा निर्यातलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले भने, हामी प्राकृतिक स्रोत साधनले सम्पन्न छौँ, जलविद्युत् निर्यात गर्ने चरणमा पुगिसकेका छौँ । पानी, जडीबुटीलगायत हामीलाई प्रकृतिले दिएको उपहारलाई निर्यात गर्न सक्छौँ, यो सम्पन्नतालाई उच्चतम् उपयोग गर्दै निर्यात गरेमात्रै पनि व्यापार घाटालाई कम गर्न सक्छौँ”, नेपालको निर्यात सम्भावना छ । उपराष्ट्रपति पुनले नेपालको समृद्धिको आधारका रूपमा कृषि, पर्यटन, जलविद्युत, जडीबुटी, खनिज, उद्योग र पूर्वाधारलाई लिइएको स्पष्ट पार्दै भने, कृषिको आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गरेर निर्यात गर्न सकिने सम्भावना धेरै छ ।

पर्यटन पूर्वाधारको विकास गरेर सेवा क्षेत्रको विस्तार, विद्युत् उत्पादन गरेर निर्यात गर्न सकिने उपराष्ट्रपतिले पुनको भनाई छ । उनले जडीबुटी प्रशोधन र खनिजको उत्खनन् तथा गुणस्तरीय उत्पादन निर्यात गर्न सक्ने समेत बताएका छन् । उनले भने, हाम्रा सबै उत्पादन गुणस्तरीय हुनुपर्दछ, गुणस्तरमा भने कुनै सम्झौता गर्नुहुँदैन । यहाँहरुले निर्यात आयात दुवै व्यापारलाई सहजीकरण र सरलीकरण गर्दै आउनुभएको छ । यसलाई अझै व्यवस्थित गर्न जरुरी छ । यहाँहरु व्यवसायी हुनुहुन्छ । व्यवसायी हुनुको नाताले मुनाफाको अपेक्षा गर्नु स्वभाविक हो”, व्यवासयीलाई ध्यानाकर्षण गराउँदै उपराष्ट्रपति पुनले भने, “आयातभन्दा निर्यातलाई प्राथमिकतामा राख्नुहोस् । राष्ट्रभन्दा ठूलो केही हुँदैन । किनकी निर्यात व्यापार प्रवद्र्धन गर्ने जिम्मेवारी तपाईँहरुको पनि हो ।”

निर्यात व्यापारलाई प्रवद्र्धन गर्न सरकारले आफ्नो प्रयास जारी राखेको उल्लेख गर्दै उपराष्ट्रपतिले पुनले निर्यात प्रवद्र्धनमा सरकारसँग सहकार्य गर्न निजी क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् । उनले भने, सरकारको एक्लो प्रयासले मात्रै हाम्रो यो यात्राले उचाइ प्राप्त गर्दैन, नीजि क्षेत्र तथा व्यवसायीले सरकारसँग यसमा हातेमालो गर्नुपर्दछ । उपराष्ट्रपतिले पुनले ढुवानी पूर्वाधारका क्षेत्रमा थुप्रै विकास भए पनि सबैको सकारात्मक सोच नराख्ने हो भने कुनै प्रगति नहुने जानकारी गराएका छन् ।

राष्ट्रहित भन्दा पनि व्यक्तिवादी सोच हावी हुँदै गइरहेकामा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपतिले आफ्ना लागि भन्दा पनि राष्ट्रका लागि सबैले सोच्नु पर्नेमा जोड दिएका छन् । उनले भने, देश डुबिरह्यो भने तपाईं हामी कहाँबाट बच्छौँ ? मेरो आग्रह छ, हामी जो जुन क्षेत्रमा छौँ, पहिला देशको लागि सोचौँ र आफ्नो लागि पनि । उपराष्ट्रपति पुनले कार्गो व्यवसायीमा देखिएका व्यवधान समाधान गर्न सरकार अग्रसर हुने अपेक्षासमेत गरेका छन् ।

केही वर्षभित्रै नेपालको ढुवानी क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले अब छिट्टै रेलमार्ग, जलमार्ग तथा धेरै अन्तर्राष्ट्रिय विमानस्थलबाट आयात निर्यात गर्नसक्ने गरी पूर्वाधार निर्माण भइरहेको जनाएका छन् । मालवस्तु ढुवानी सहजीकरण र सरलीकरणमा सरकारले गरिरहेको प्रयासले सार्थकता पाउने विश्वास व्यक्त गर्दै उनले नेपालका नदीमा साना तथा मझौला पानीजहाज सञ्चालन हुने दिन अब धेरै टाढा नरहेको स्पष्ट पारेका छन् ।

उपराष्ट्रपतिले पुनले भने, रेलमार्ग, जलमार्ग सञ्चालन हुने दिन पनि धेरै टाढा छ जस्तो लाग्दैन, जलमार्ग र रेलमार्गले हाम्रो निर्यात आयात व्यापारलाई सहज बनाउने छ । हामीलाई समुद्रसँग जोड्नेछ यसबाट कार्गो व्यवसायीलाई पनि सहजता मिल्नेछ ।

उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहेको जानकारी गराउँदै बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि विशेष भूमिका खेल्न आग्रह गरेका छन् । उनले सरकारले ढुवानी व्यवसायलाई प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा जोड दिनपर्ने बताएका छन् । नेपालको समुद्रसम्म सहज पहुँचका लागि ठूलो मेहनत गरिएको उनको भनाई थियो ।

सोहि क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पूर्वाधार विस्तार गरेरमात्रै निर्यात विविधीकरण गर्न सकिने स्पष्ट पारेकी छिन् । ढुवानी व्यवसायमा नवीनतम् प्रविधिको प्रयोग गरिनुपर्नेमा उनले जोड दिएकी छिन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै पूर्वाधारको विकासतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

भारतीय कार्गो व्यवसायी महासंघका अध्यक्ष एस रामकृष्ण रावले भारत र नेपालका कार्गो व्यवासायीको सामूहिक प्रयत्नबाट मात्र दुवै मुलुकको समृद्धि सम्भव भएको जानकारी गराएका छन् । व्यापार सहजीकरणमा दुवै संस्थाले एकअर्कालाई भरपूर सहयोग गर्दै आएको उनले सुनाए । संघका अध्यक्ष प्रकाश सिंह कार्कीले समग्र कार्गो व्यवसायको विस्तारका लागि यससँग सम्बन्धित ऐन, कानून परिमार्जन गर्न आग्रह गरेका छन् । उनले कार्गोमैत्री पूर्वाधार विकासमा समेत जोड दिएका छन् । व्यापार सहजीकरण गर्न संघ तयार रहेको स्पष्ट पार्दै अध्यक्ष कार्कीले कार्गो व्यवसायमा देखिएको समस्या समाधान गर्न सरकाको ध्यानकर्षण गराएका छन् ।

सो अवसरमा उपराष्ट्रपति पुनले कालोपुलस्थित संघको नवनिर्मित भवनको समेत अनलाइन माध्ययमबाट उद्घाटन गरेका थिए । संघमा कार्गो सेवा उपलब्ध गराउँदै आएका ११८ कम्पनी आबद्ध रहेका छन् । ढुवानी तथा कार्गो व्यवसायलाई आवश्यक पर्ने ऐन, नियम तथा कानून निर्माणमा संघले सरकारलाई सुझाव, सल्लाह उपलब्ध गराउँदै आएको छ ।

उक्त कार्यक्रममा आयात, निर्यात तथा कार्गो व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्व तथा उत्कृष्ट कार्गो ढुवानी गर्ने संस्थालाई सम्मान गरिएको थियो । सन् २०१८ को ‘हाइएस्ट कार्गो अपलिफ्ट अवार्ड’ अनलाइनतर्फ क्रमशः कतार एयरवेज, क्याथे प्यासिफिक कार्गो र थाइ एयरवेजलाई प्रदान गरियो । त्यस्तै अफलाइनतर्फ इमिरेट्स स्काइ कार्गोलाई ‘हाइएस्ट कार्गो अपलिफ्ट अवार्ड’ प्रदान गरिएको थियो ।