नेकपाको एकता प्रक्रिया अझै टुंगो लागेन

काठमाडौं, साउन १३ । लामो समयदेखि एकताको प्रक्रियामा अल्झिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रियाको समय फेरी थपिएको छ । विभिन्न वाहाना गर्दै एकता प्रक्रियालाई लम्व्याईएको आरोप लागि रहेकै बेला फेरी विभिन्न विभागको नेतृत्वमा देखिएको विवाद मिलाएर मात्र एकता गरिने जनाइएको छ ।

सोमबार बसेको सचिवालय बैठकले पनि विभिन्न विभागको देखिएको विवादका कारण एकता प्रक्रिया टुंगो लाग्न नसकेको निष्कर्ष निकालेको छ । केहि दिन यता स्कुल विभागका बारेमा चौतर्फि कुरा उठिरहेका छन् । उक्त विवादले पूर्वएमाले र पूर्वमाओवादीबीच दरार नै उत्पन्न गराएको छ । विभागको नेतृत्वका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको मुख्य दाबी देखिए पनि अन्य नेताहरुको पनि दाबेदारी कायमै रहेका कारण सो विवादको अन्त्य हुन सकेको छैन् ।

सोमबार बसेको सचिवालय बैठकमा पार्टी एकताका लागि केन्द्रीय निकाय, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय कमिटीमा रहेका सबैको कार्यविभाजन गर्नका लागि कसको कुन विभाग र निकायमा रुची छ भन्ने विषयमा बुझेर मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ । एकता पछि कुनै विवाद नआओस् भन्ने हेतुले हदैसम्मको छलफल गरिएको सचिवालयका एक सदस्यले बताए ।

सोहि क्रममा बैठक समापन भए पश्चात प्रवक्ता नारायणकाजी श्रेष्ठले रुची र प्राथमिकताका बारेमा सम्बन्धित व्यक्तिलाई पनि सोधेर निर्णय लिइने जानकारी गराएका छन् । उनले अहिलेसम्म कुनै पनि विभागको टुंगो नलागेको स्पष्ट पारेकाम छन् । गृहकार्यका लागि भन्दै बैठक साउन २८ गतेसम्मका लागि स्थगन गरिएको उनको भनाई छ ।

सचिवालय बैठकले कुनै पनि विभागको बारेमा कुनै निर्णय नगरेको उनले प्रष्ट पारेका छन् । उनले भने, एउटाको मात्रै विवाद छ भन्न मिलेन, अन्य चर्चामा नआएका विभागमा पनि विवाद आउन सक्छ । भोलीका दिनमा कुनै विवाद नआओस् भनेर गहन छलफल गरेर टुंगो लगाउन लागिएको हो ।

नेकपाका नेता झलनाथ खनालले पनि अध्यक्षद्वयको गृहकार्य नपुगेको भन्दै रुचीका बारेमा सम्बन्धित व्यक्तिसँग छलफल गरेर साउन २८ गते बैठक बस्ने जानकारी गराएका छन् ।