लागु औषधका मुद्दामा यस वर्ष २६९ वटा बढे

काठमाडौं, साउन १४ । लागुऔषधमा संलग्नहरुलाई निस्तेज गर्न खजिए पनि अहिलेसम्म पूर्ण रुपमा यस्ता घटनाहरु निस्तेज हुन सकेका छैनन् । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा दिन प्रतिदिन वृद्धि भइरहेको छ । प्रहरी प्रधान कार्यालयले पछिल्लो समयमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७४ र ७५ को तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा लागुऔषधका मुद्दामा वृद्धि भइरहेको पाइएको छ ।

आर्थिक वर्ष २०७४ र ७५ मा तीन हजार ८८ लागुऔषधका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७५ र ७६ मा तीन हजार ३५७ मुद्दा दर्ता हुँदा २६९ वटा मुद्दा बढेको देखिन्छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको जानकारी गराएका छन् । प्रवक्ता पोखरेलका अनुसार खुला सिमानाका कारण तराई क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको छ । जति नै नियन्त्रण गर्न खोजिए पनि अपराधीहरुको जालो पत्ता लागाउन केही समय लाग्ने उनको भनाई छ ।

लागुऔषध सेवनले व्यक्ति, घरपरिवार, समाजलाई मात्र नभएर सिङ्गो देशलाई नै असर गर्ने भएकाले नेपाल प्रहरीले बढ्दो लागुऔषध दुव्यर्सनी तथा ओसारपसालाई कम गर्न लागुऔषध नियन्त्रण ब्यूरोको स्थापना गरी काम गर्दै आइरहेको छ । ब्यूरोका प्रहरी नायब उपरीक्षक गौतम थापाले विसं २०६९ मा स्थापना भएको ब्यूरोले हालसम्म ९६ विदेशीसहित दुई हजार ५१८ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको बताएका छन् । नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको दर बढेको भन्दै यसलाई न्यूनीकरण गर्न गृह मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

लागुऔषध ब्यूरोका प्रहरी नायब उपरीक्षक थापा गाँजा, अफिमलगायतका लागुऔषध नेपालको पहाडी र भित्री मधेसमा धेरै उत्पादन हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न प्रहरीको एक्लो संलग्नताले मात्र काम पूर्ण सफल नहुने भन्दै स्थानीयवासीको सक्रियता आवश्यक रहेको स्पष्ट पारेका छन् । प्रहरीले हाल लागुऔषध ऐन, २०३३ अनुसार मुद्दा चलाउँदै आएको छ । लागुऔषध ओसार पसार गर्ने पनि अपराधी नै भएको भन्दै प्रहरीले खोजि खोजि कार्वाहि गर्ने बताएको छ ।