साउनभित्र पार्टी एकता हुने नेता नेपालको दाबी

काठमाडौं, साउन १७ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा लामो छलफल चले पनि एकता प्रक्रिया टुंगोमा पुग्न सकेको छैन् । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् ।

उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको जानकारी गराएका छन् । नेता नेपालले एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले पार्टीभित्र विवाद र बहस भए पनि सबै कुरालाई उचित किसिमले व्यवस्थापन गरेर पार्टी एकताको काम टुङ्गाउनु पर्नेमा जोड दिएका छन् ।

सरकारका काम कारवाहीका विषयमा पार्टीभित्रको अनुगमन प्रणालीलाई दरो बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्दै अघि बढ्ने जानकारी गराएका छन् । उनले भने, दण्डहीनतालाई प्रश्चय दिने हो भने यथास्थितिमा सुधार गर्न सकिँदैन ।