काठमाडौँ, साउन ३१ । राहत वितरण प्रक्रियाका बारेमा गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा विमानस्थलबाट पुर्याइने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या निस्केको भनी गुनासो आएपछि गृहमन्त्री शर्माले के कसरी उपलब्ध गराइएको छ भन्ने बारेमा स्थलगत निरीक्षण गरेका हुन् । रौतहट, पर्सा, सप्तरीलगायत बाढी, पहिरो तथा डुबानमा परेका विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिएको उनको सचिवालयद्वारा जारीे प्रेस नोटमा उल्लेख गरिएको छ ।
सो अवसरमा गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुलाई विशेष प्राथमिकतामा राख्न तथा बढी प्रभाव परेका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले राहत वितरणमा पक्षपात हुन नदिन तथा प्रभावित नागरिक छुट्ने र प्रभावित नभएकाले राहत पाउने अवस्था आउन नदिन समेत विशेष ख्याल गर्न आग्रह गरे ।
गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता रामकृष्ण सुवेदी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेना, हवाई सेवा निर्देशनालय तथा निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
आइतबार र सोमबार गृहमन्त्री शर्मा लगायतको टोली पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबानबाट प्रभावित भएका क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएको हो ।