काठमाडौं, साउन २८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र संघीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र संघीयताको संस्थागत गर्नु नै कांग्रेसको मुख्य एजेण्डा रहेको स्पष्ट पारेका छन् ।
प्रवक्ता शर्माका अनुसार कांग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने छ । उनले साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्ने स्पष्ट पारेका थिए । सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट सफल नहुने बताउँदै उनले भने, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ ।
नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व रहेको औंल्याएका छन् । उनले भने, मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने हुन्छ । सरकार नसच्चिए उसैका लागि घातक हुन सक्ने कुरा पनि सरकारले बुझ्न आवश्यक छ । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न कांग्रेसले सरकारलाई सहयोग गर्न चाहेको बताउँदै शर्माले कम्युनिष्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरेका छन् ।
नेपाली नागरिक हुनुमा गौरव मान्नुपर्ने धारणा राख्दै शर्माले भौतिक विकास र निर्माणसँगसँगै नेपाली–नेपालीबीचको भावनात्मक एकतालाई पनि गाँस्नुपर्नेमा जोड दिएका छन् । देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्दै नेता शर्माले संविधानले व्यवस्था गरे बमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने प्रष्ट पारेका छन् । उनले विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने भन्दै आक्रोश पोखेका थिए । शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि कांग्रेसले पहल गर्ने जानकारी गराएका थिए ।
सोही कार्यक्रममा बोल्दै नेपाल तरुण दलका महासचिव भुेन्द्रजङ्ग शाहीले सरकार चौतर्फीरूपमा असफल भएको जीकिर गरेका छन् । समितिका सभापति विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विपी अध्ययन प्रतिष्ठान युरोपका रञ्जन ओझा, ट्रेड युनियन कांग्रेसका तीर्थ खनाल, पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले आ आफ्ना धारणा राखेका थिए ।
त्यस्तै विश्व शान्तिको कामना गर्दै युरोपेली मुलुक पोर्चुगलमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको छ । द टु«थ लभ अफ लिभिङ फाउण्डेशनको आयोजना तथा सत्य सनातन धर्मका प्रवद्र्धक एक नेपाली योगीको पहलमा सोमबार राजधानी लिस्बनको अल्जेसस्थित समुद्री किनारमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको हो । महायज्ञमा विधि विधानसहित मन्त्रोचारण गर्दै ऋग्वेदको पाठ, देवीदेउताको पूजा, पृथ्वी, जल, वायु, आकाशलगायत विश्व शान्तिको कामना गरिएको योगी श्रीओम सूर्य शिवले बताएका छन् ।
विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा आध्यात्मिक र शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले जलधारा महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले स्पष्ट पारेका छन् । महायज्ञमा वेद्धान्तिक ज्ञान, शुद्धज्ञान र आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचनसमेत दिइएको उनको भनाई थियो ।
यस्तै उनले जनैपूर्णिमाको अवसर पारेर विहीबारका दिन जनै पूर्णिमाको अवसर पारेर लिस्बनको आन्जुसमा शिव पूजा, पाञ्चायन पूजा, जनै प्राण प्रतिष्ठा गरिने र भक्तजनलाई जनै लगाइदिने तथा प्रसाद वितरणको कार्यक्रम समेत तय भएको रहेको जानकारी गराएका छन् ।