संसदमा आज संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पेश हुने

काठमाडौँ, साउन ३२ । व्यवस्थापिका–संसदमा आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ पेस गरिने भएको छ ।

उक्त विधेयकलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उनले यस अघि उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । नेपालको संविधान विधेयक २०७३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

नेपालको संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ । संविधान सशोधनको विषयलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आ–आफ्नै ढंगबाट व्याख्या र विश्लेषण गर्दै आएका छन् ।

सत्तापक्षले संविधानको स्वीकार्यतालाई बढाउन संविधान संशोधन आजको अनिवार्य सर्त रहेको जनाउँदै आएकोे छ भने प्रतिपक्षले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसँग जोडेर हेर्दै आएको छ ।संसदबाट सरकार र प्रतिपक्ष दललाई समेत संशोधन प्रस्ताव अघि बढाउनलाई सहजता प्रदान गरेको छ ।