कांग्रेसको शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना

काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसले देशभर जारी दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा प्रकोपका रुपमा फैलिएको डेंगु रोगका बारेमा जनचेतना फैलाउने निर्णय गरेको छ । प्रवक्ता शर्माले “डेंगुका कारण हजारौं नागरिक प्रताडित भइरहेको यो समयमा नेपाली कांग्रेसले हिपतम (हिमाल–पहाड–तराई–मधेस) जागरण अभियानकै क्रममा यस सम्बन्धी आवश्यक चेतना विस्तार गर्ने निर्णय गरिएको जानकारी गराएका छन् ।

उनले अभियानका सबै कार्यक्रमका क्रममा देशव्यापी रूपमा यो विषयलाई विशेष प्राथमिकतामा राखी सर्तकताको अपिल गर्ने कार्यलाई तिव्रता दिइने जनाएका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुर बिहीबार सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ताले पार्टीको जागरण अभियानमा गरेको आक्रमणको विरोधमा संघर्षका कार्यक्रम घोषणा गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले अभियानका क्रममा डेंगु रोगका बारेमा जनचेतना फैलाउने निर्णय गरिएको जानकारी गराएका छन् ।

प्रवक्ता शर्माले बाँके घटनालगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरूद्ध सम्बन्धित निकायहरूमा ज्ञापन पत्र दिने जानकारी दिए । उपत्यकाका तीन वटै जिल्लाका सभापतिहरुले शनिबार बिहान ८ वजे गृहमन्त्री रामबहादुर थापालाई घटनाको विरोधमा ज्ञापनपत्र बुझाउने बताइएको छ । प्रवक्ता शर्माले काठमाडौँ उपत्यकाका हकमा काठमाडौँ, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्रीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँने तयारीका साथ अघि बढेको जानकारी गराए ।

उनले भने, “हामी घटनालाई घटनाका रुपमा नभएर घटनालाई प्रवृत्तिका रुपमा विश्लेषण गरेर ज्ञापनपत्रमार्फत् सरकारलाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सचेत गराउँछौं ।”बाँके घटनाका विरोधमा कांग्रेसले शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने पनि उनले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ, ललितपुर सभापति मदनबहादुर अमात्य र भक्तपुर सभापति दुर्लभ थापाले धर्नाको नेतृत्व गर्ने छन् । यसैबीच सभापति शेरबहादुर देउवा शनिबार नै नेपालगञ्ज जाने भएका छन् ।