ललितपुर, भदौ ३१ । खाने पानी, वातावरण सरसफाई, शान्ति सुरक्षा कायम गर्नका लागि दृढ संकल्प लगाएतका विषयमा केन्द्रित रहेर गोदावरी नगरपालिकाले काम गरिरहेको छ । उक्त नागरपालिका क्षेत्र भित्र हुने चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउनका लागि सिसी क्यामेरा जडान गर्ने तयारीलाई तिव्रता दिएको छ । उक्त नगरपालिकाले नगरभित्रका महत्वपूर्ण स्थानमा सिसी क्यामेरा जडान गर्न लागेको हो ।
नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको जानकाारी गराइएको छ । नगर प्रमुख गजेन्द्र महर्जनले क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना सहित कामलाई तिव्र रुपमा अघि बढाइएको जानकारी गराएका छन् । पर्यटनका हिसाबले अत्यन्त सुन्दर र रमणिय स्थान मानिने उक्त नगरपालिकाले पर्यटन वर्ष २०२० लाई सफल रुपमा सम्पन्न गर्नका लागि उक्त कामलाई तिव्रता दिएको नगरप्रमुख महर्जनको भनाई छ ।
आउँदो मङ्सिर–पुसबाट गोदावरीको व्यस्त स्थानमा क्यामेरा जडानको काम शुरु गर्ने योजना सहित काम भई रहेको बताउँदै नगरप्रमुख महर्जनले भने, नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै उनीहरुमा दुर्घटना र हानी नहोस् भनेर सो काममा तीव्रता दिन लागेका हौँ । उनले गोदावरीको सुरक्षा व्यवस्था चुस्तदुरुस्त भए मात्र त्यहाँ रहेका उद्यान, वनभोज क्षेत्र र धार्मिक क्षेत्रमा बढीभन्दा बढी मानिसको आवागमन बढाउन सकिने जानकारी गराएका छन् ।
गोदावरीलाई जति सक्दो सुन्दर बनाउने प्रयासमा आफु केन्द्रित रहेको बताउँदै नगरप्रमुख महर्जनले भने, शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु हाम्रो उत्तरदायित्व हो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले गोदावरीमा सिसी क्यामेरा जडान गरेसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने स्पष्ट पारेका छन् । उनले उक्त नगरपालिका भित्र कुनै घटना नघटुन् र घटि हाले भने पनि अपराधिसम्म पुग्न सहज होस भन्ने हेतुले यो अभियान चालेको बताएका छन् ।