नेकपा का नेता र नेतापुत्रहरुको कान्डै कान्ड

काठमाडौं – संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि मंगलबार पदबाट राजीनामा दिए। संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले सभामुख महराले आइतबार राति बलात्कार गरेको आरोप लगाएको समाचार आएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

महरा यसअघि पनि विवादमा तानिएका नेकपा नेता हुन्। संविधानसभा सदस्य खरिदबिक्रीका लागि सरकार परिवर्तन गर्ने भन्दै एक चिनियाँ ठेकेदार कम्पनीसँग ५० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि उनी विवादमा तानिएका थिए। विवाद त्यत्तिकै सामसुम भयो। महरामाथि सेना समायोजनमा तत्कालीन माओवादी लडाकुका नाममा रहेको करोडौं रकम हिनामिना गरेको आरोपसमेत छ।

बलात्कार आरोप लाग्ने महरा नेकपाका एक्ला नेता भने होइनन्। गृहमन्त्री रामबहादुर थापामाथि पनि बलात्कार आरोप लागेको थियो। सशस्त्र द्वन्द्वका बेला २०५४ मा बलात्कार आरोप लागेपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो। उनीमाथि माओवादीकै नेत्रीलाई बलात्कार गरेको आरोप थियो। एक वर्षपछि कारबाही फुकुवा भयो र उनी सक्रिय भए।

उपराष्ट्रपति नन्दबहादुर पुनमाथि पनि हत्या आरोप लागेको थियो। काठमाडौं कोटेश्वरका होटल व्यवसायी रामहरि श्रेष्ठ हत्यामा पक्राउ परेका गोविन्दबहादुर बटालाले पुनकै निर्देशनमा घटना भएको बयान दिएका थिए। बटाला त्यतिबेला माओवादी लडाकुको चितवन शक्तिखोरस्थित तेस्रो डिभिजनका सहायक कमान्डर थिए।

तत्कालीन माओवादीको पैसा र सुन चोरी गरेको आरोपमा पार्टी निर्देशनमै श्रेष्ठमाथि निर्घात कुटपिट हुँदा उनको मृत्यु भएको थियो।

श्रेष्ठको शव २०६५ वैशाख ३१ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भालुढुंगा भन्ने ठाउँनजिकै त्रिशूली नदीमा भेटिएको थियो। उक्त मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन छ।

छोराहरू पनि मुछिए काण्डैकाण्डमा

विभिन्न काण्डमा मुछिएका तीनै नेता देशको सर्वोच्च पदमा पुगे। भर्खरै राजीनामा दिएका सभामुख महरा कानुन बनाउने सबैभन्दा उपल्लो पदमा थिए भने पुनसँग कानुनमा लालमोहर लगाउने अख्तियारी छ। थापा प्रभावशाली पद गृह मन्त्रालयको नेतृत्वमा छन्।
यी नेताका छोराले पनि शक्तिको आडमा अवैध गतिविधिमा मुछिने गरेका छन्। सभामुख हुनुपूर्व कृष्णबहादुर महरा गृहमन्त्री थिए। गृहमन्त्रीको सचिवालय हेर्थे छोरा राहुल महराले। प्रहरी बढुबाका बेला राहुलले फाइल गायब पारेका थिए। कार्यसम्पादन मूल्यांकन फाइल प्रहरीले अहिलेसम्म फिर्ता पाएको छैन।

राहुलमाथि गृहमन्त्रीको स्वकीय सचिव रहँदा प्रहरीको बर्दी पैसामा कारोबार गरेको आरोप छ। राहुलको नाम साढे ३३ किलो सुनकाण्डमा समेत मुछियो। सुनकाण्ड अहिले सामसुम भइसकेको छ।

हालका गृहमन्त्री रामबहादुर थापाका प्रथम स्वकीय सचिव हुन् छोरा प्रतीक। मदिराको नसामा महिलासँग अश्लील व्यवहार गरेपछि प्रतीक विवादमा आएका थिए।

गृह मन्त्रालय तथा प्रहरी मुख्यालयबाट हुनुपर्ने प्रहरीको सरुवा बढुवा प्रतीककै तजबिजमा चल्छ। बाबु गृहमन्त्री थापालाई प्रतीकको सबै हर्कत जानकारी भए पनि मौन छन्। १०८ ब्याचका एसएसपी बढुवामा प्रतीकले एकजनाबाट २० देखि ५० लाखसम्म लिएको गुनासो बढुवामा परेका अधिकृतले नै गरेका छन्।

उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पनि विवादमा आइरहने पात्र हुन्। दीपेश र गुण्डा नाइके राजु गोर्खालीको लगानीमा उपत्यकाभित्र आधा दर्जन अवैध बालुवाखानी सञ्चालनमा रहेको प्रहरी दाबी छ।

गोर्खाली पक्राउ परेपछि बालुवा खानीमा दीपेशको संलग्नता रहेको खुलेको हो। यस्तै दीपेश, प्रतीक र राहुलको गुण्डा नाइके राजु गोर्खाली अवैध कारोबारको साझेदार रहेको दाबी उच्च प्रहरी अधिकारीको छ।