प्रधानमन्त्री देउवाले गरे बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

बर्दिया, भदौ १ । बर्दियाको बाढी प्रभावित क्षेत्रको प्रधानमन्त्री शेरबहादुर देउवाले स्थलगत निरीक्षण गरेका छन् ।

गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँगको भेटघाटमा प्रधानमन्त्री देउवाले सरकारले जति सक्दो छिटो क्षतिपूर्ति उपलब्ध गराउने बताएका छन् । उनले बाढी प्रभावित क्षेत्रका पीडितहरुलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको बताए । प्रम देउवाले बाढी पीडितलाइ सरकारले राहत उपलब्ध गराउने कुरामा निर्धक्क भएर बस्न भने ।

बाढीबाट अत्यधिक धनजनको क्षति भएकोमा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गर्दै तत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने आश्वासन दिए ।

विगत केही दिनदेखि लगातार परेको पानी र बर्षाका कारण देशका विभिन्न ठाउँका मानिसहरु विस्थापित भएका छन् । बाढीबाट बर्दियामा एक हजारभन्दा बढी घर परिवार विस्थापित भएका छन् । बाढीबाट पीडित भएकाहरु अहिले जिल्लाका ४१ वटा विद्यालयमा शिविर खडा गरेर बस्दै आएका छन् ।