ललितपुर, असोज २७ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्यानडामा सम्पन्न भएको ‘इकोसिटी वल्र्ड समिट २०१९’ ललितपुर महानगरका लागि उपलब्धिमूलक भएको बताएका छन् । एक साता अघि उक्त समिटमा भाग लिन क्यानडा पुगेका उनले उक्त समिट ललितपुर महानगरपालिकामा विभिन्न खालका योजना भित्रियाउन मार्गदशक भएको बताए ।
भिआइपी वक्ताको रुपमा आफ्नो मन्तव्य राख्दै उनले हरियाली प्रबद्र्धनका लागि महानगरले वृक्षारोपणलाई प्राथमिकता दिएको, वातावरण संंरक्षणका लागि महानगरले साइकल सिटीको अवधारणा अघि सारेको बताए । प्रमुख महर्जनले महानगरभित्रको निश्चित ठाउँमा साइकल लेन निर्माणको सुरुवात छिट्टै हुने जानकारी गराए । ललितपुरभित्र मनाइने सांस्कृतिकपर्व, जात्राले पर्यावरण जोगाउन सहयोग गरेको विषयलाई उनले आफ्नो प्रस्तुतिमा समावेश गरे ।
समिटका बारेमा संक्षिप्तमा कुरा गर्दै उनले भने, ‘साइकल लेनको अवधारणालाई सहभागीहरुले ध्यानपूर्वक सुन्नभयो, आवश्यक सल्लाह र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । ’ क्यानडाको हरियाली र साइकल लेनबाट आफू प्रभावित भएको उनले बताए । अक्टोबर ७ देखि ११ सम्म भएको उक्त समिट व्रिटिस कोलम्बिया इन्स्टिच्यूट अफ टेक्नोलोजी एण्ड इकोसिटी विल्र्डसले आयोजना गरेको हो । उक्त संस्थाको निमन्त्रणमा नगरप्रमुख क्यानडा गएका हुन् ।
विश्वका विभिन्न राष्ट्रका एक हजार सरोकारवालाहरुको सहभागिता रहेको उक्त सम्मेलनमा नगरप्रमुख महर्जनले पर्यावरण जोगाउनका लागि महानगरले गरेका कार्यक्रमहरु समावेश गरिएको कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार उक्त कार्यपत्रमा सैद्धान्तिक भन्दा व्यवहारिक पक्षहरु समेटिएको थियो । विश्वका धेरै सहरहरुको वातावरण अस्वस्थ बन्दै गएकोमा छलफल गर्न उक्त समिट आयोजना गरिएको हो । अक्टोबर ७ बाट सुरु भएको उक्त समिट अक्टोबर ११मा सकिएको छ ।