काठमाडौं, असोज २८ । छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । नेपाल आपसी सम्बन्ध सुधार्दै उनले सहकार्यमा सँगसँगै अगाडि बढ्ने समेत जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको उद्घाटन गर्दै सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले यस सम्पन्नतालाई प्रवद्र्धन गर्दै आपसी सहकार्यबाट यी देशको आर्थिक समृद्धि वर्तमानको कार्यभार भएको बताएका छन् ।
चीनका राष्ट्रपति सीले चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको र नेपाल आउनुअघि भारतको भ्रमण गरेकाले एशियाका देशहरु कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश पनि दिएको धारणा व्यक्त गरेका छन् । यही असोज २५ र २६ मा राष्ट्रपति सीले नेपालको राजकीय भ्रमण गरेका थिए ।
प्रधानमन्त्री ओलीले विश्वमै धेरै जनसङ्ख्या रहेका भारत र चीन पुराना कुरा बिर्सेर आपसी सम्बन्धलाई सुमधुर बनाउँदै गरेको समेत बताए । उनले थपे, नेपाल पनि सँगसँगै अगाडि बढ्न चाहान्छ र एशिया अब कटुताको होइन, पारस्परिक एकता, मानवहित र समृद्धिको बाटोमा अघि बढ्न चाहान्छ ।”
उनले पूर्वीय सभ्यता र संस्कृति उत्कृष्ट र लोभलाग्दो रहेको भन्दै उनले यसका राम्रा पक्षहरुको संरक्षण गर्दै जान आग्रह समेत गरेका छन् । जारी सम्मेलनका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपालका लागि बङ्गलादेश र पाकिस्तानका राजदूत, संस्कृतिविद् सत्यमोहन जोशीलगायतले सम्मेलन सफलताको कामना गरेका हुन् । नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० गरी ६० साहित्यकारको सम्मेलनमा सहभागिता हुनेछ ।
चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र सम्मेलनमा प्रस्तुत हुनेछ । पश्चिमा संस्कृतिको गलत प्रभाव चिरेर एशियाली संस्कृतिको प्रवद्र्धन गर्ने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मेलनले सघाउने बताए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवं पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवद्र्धनसमेत गरिने सम्मेलनका अवसरमा कार्यक्रम रहेको छ । असोज ३० चन्द्रागिरि तथा आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिकस्थलको भ्रमण गराइनेछ ।